बक्सर अभिरल घिमिरेले जापानको ओसाकामा आइतबार सम्पन्न ‘के वान क्रस १७५’ किक बक्सिङ प्रतियोगिताको उपाधि जितेका छन्, जुन विश्वमै चर्चित र प्रतिष्ठित प्रतियोगिता मानिन्छ।
प्रतिस्पर्धात्मक खेलमा उनले जापानी किक बक्सिङ च्याम्पियन ओदा जिन्कुलाई दोस्रो राउण्डमै पराजित गरे। उनका बुवा तथा पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा कराँते खेलाडी देव घिमिरेका अनुसार, अभिरलले जिन्कुलाई रिङमा हराउने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन्।
देवले जानकारी दिएअनुसार, उक्त खेल हेर्न जापानस्थित ठूलो संख्यामा नेपाली डायस्पोरा र जापानी नागरिकको उपस्थिति थियो। तयारीका लागि अभिरल झण्डै डेढ महिना थाइल्यान्डमा क्लोज ट्रेनिङमा थिए।
उपाधि जितेपछि अभिरलले यसलाई नेपाल र आफ्ना लागि ऐतिहासिक क्षण भएको बताएका छन्। यसअघि उनले थुप्रै अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताहरू खेलेका थिए। हाल घिमिरे परिवार चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधाराबाट जापानको नागोया सहरमा बसोबास गर्दै आएको छ।

